लोकसेवा आयोगद्वारा ४ सय ८२ नायव सुब्बाको विज्ञापन खुल्ला
माघ २,काठमाडौ । लोकसेवा आयोगले देशका विभिन्न ५ क्षेत्रीय कार्यालयहरुबाट गरी कुल ४ सय ८२ जना राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिक नायब सुब्बाका लागि विज्ञापन प्रकाशन गरेको छ ।
जसमध्ये खुल्ला तथा समावेशीतर्फ गरी पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयबाट कुल १ सय ४ पदका लागि दरखास्त आह्वान गरिएको छ । सबैभन्दा बढि २ सय ४ जना नायब सुब्बा पदका लागि मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय कमलपोखरीबाट दरखास्त आह्वान गरिएको छ । त्यस्तै पश्चिमाञ्चलबाट ८३, मध्यपश्चिमाञ्चलबाट ५५ र सुदुरपश्चिमाञ्चलबाट ३८ जना नायब सुब्बा पदका लागि विज्ञापन गरिएको छ ।
लोकसेवा आयोगले खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्ने कुल पदसंख्या मध्ये ४५ प्रतिशत समावेशी र ५५ प्रतिशत खुला प्रतिस्पर्धाबाट छनोट गर्दछ ।
समावेशीतर्फ छुट्टाइएको कुल पदको ४५ प्रतिशतलाई शत प्रतिशत मानी महिलाका लागि ३३ प्रतिशत, आदिवासी जनजातिका लागि २७ प्रतिशत, मधेशीका लागि २२ प्रतिशत, दलितका लागि ९ प्रतिशत, अपांगका लागि ५ प्रतिशत र पिछडिएको क्षेत्रका लागि ४ प्रतिशत कोटा छुट्टाइएको हुन्छ ।
कहिले हुन्छ परीक्षा ?
लोकसेवा आयोगले प्रकाशित गरेको सूचनाअनुसार प्रथम पत्रको सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षणको परीक्षा (वस्तुगत) आगामी बैशाख २५ गते दिउँसो ४ बजे हुनेछ । दोश्रो पत्र सामाजिक आर्थिक अवस्था विषयको विषयगत परीक्षा वैशाख २६ गते दिउँसो ११ बजे र तेस्रो पत्रअन्तरगत ऐच्छिक प्राज्ञिक विषयको वस्तुगत परीक्षा सोही दिन दिउँसो ३ बजेका लागि तय गरिएको छ ।
परराष्ट्र सेवाका लागि समेत परीक्षा दिनेहरुका लागि चौथो पत्र अंग्रेजी भाषा र कुटनीतिक विषयको परीक्षा वैशाख २७ गते बिहान ८ बजेका लागि तोकिएको छ ।
प्रथम चरणको लिखित परीक्षाबाट अन्तरवार्ता र कम्प्युटर सीप परीक्षणका लागि उमेद्वारहरु छनोट गरिन्छ । कम्प्युटर सीप परीक्षण र अन्तरवार्ताको मिति लिखित परिक्षाको नतिजा प्रकाशित हुँदा उल्लेख गरिने लोकसेवा आयोगले जनाएको छ ।
कम्प्युटर सीप परिक्षण र अन्तरवार्ताबाट सम्बन्धित पदमा उत्तीर्ण उमेद्वारहरु लोकसेवा आयोगले सिफारिस गर्ने गर्दछ ।
शुल्क कति लाग्छ ?
नायब सुब्बा पदका लागि फारम भर्दा उमेद्वारले ४ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । तर, खुल्ला बाहेक समावेशी समूहमा समेत फाराम भर्ने उमेद्वारले थप समावेशी समूहका लागि ४ सय रुपैयाँसँगै प्रत्येकको २ सयका दरले शुल्क तिर्नुपर्नेछ । परराष्ट्र सेवाको थप पत्रका लागि २ सय रुपैयाँ थप गर्नुपर्नेछ ।
दरखास्त दिने मिति र स्थान
लोकसेवा आयोगका अनुसार आयोगको क्षेत्रीय निर्देशनालय तथा क्षेत्रीय निर्देशनालयसँग सम्बन्धित अञ्चल कार्यालय र लोकसेवा आयोगको कार्यालय नभएका जिल्लाको हकमा सम्बन्धित जिल्ला हुलाक कार्यालयमा पनि दरखास्त बुझाउन सकिनेछ ।
मध्यमाञ्चलबाट प्रकाशित विज्ञापनका लागि काठमाण्डौ उपत्यका दरखास्त संकलन केन्द्र अनामनगरका साथै गोश्वारा हुलाक कार्यालय सुन्धारामासमेत दरखास्त बुझाउन सकिने व्यवस्था गरिएको छ । दरखास्त साथ शैक्षिक योग्यताका प्रमाणपत्रहरु (अ) लब्धांकपत्र (आ) उमेर खुलेको चारित्रिक प्रमाणपत्रै र नेपाली नागरिकताको प्रमाणपत्र समेतको प्रतिलिपि एवं दरखास्त दस्तुर बुझाएको नगदी रसिद पेश गर्नु पर्नेछ ।
प्रमाणपत्रको प्रतिलिपिमा उम्मेदवार स्वयंले सक्कलबमोजिम नक्कल ठीक छ भनी दस्तखत गर्नु पर्नेछ । बहालवाला स्थायी कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन ।
बहालवाला कर्मचारीले दरखास्थका साथ नियुक्ति पत्रको प्रतिलिपि संलग्न गरी दरखास्त फाराममा सेवासम्बन्धी विवरणहरु उल्लेख गरी अनिवार्यरुपमा प्रमाणित गराई पेश गर्नु पर्नेछ ।
समावेशीतर्फका उम्मेदवारहरुले पेश गर्नु पर्ने थप कागजातहरुः-
(क) आदिवासी/जनजातिका हकमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा । तर, नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
(ख) दलितका हकमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीका आधारमा गर्नुपर्ने । तर, राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जाति भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
(ग) अपाङ्गका हकमा स्वीकृत चिकित्सकको सिफारिशमा समाज कल्याण परिषदबाट अपाङ्गता प्रमाणित गरेको आधारमा हुनुपर्नेछ ।
(ग) अपाङ्गका हकमा स्वीकृत चिकित्सकको सिफारिशमा समाज कल्याण परिषदबाट अपाङ्गता प्रमाणित गरेको आधारमा हुनुपर्नेछ ।
(घ) मधेसीका हकमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
(ङ) पिछडिएको क्षेत्रका हकमा निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा (७) मा उल्लेख भएका जिल्लामा स्थायी बसोवास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट (दरखास्त फाराम आयोगमा बुझाउने दिन भन्दा ३ महिना अगाडि सम्म) हाल सोही स्थानमा स्थायी बसोबास भएको भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।
स्थायी वसोवास भएको जिल्ला बाहेक अन्यत्र जिल्लाबाट नागरिकता लिएको भएमा सो गर्नुपर्नाको कारण उल्लेख भएको पत्र नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट लिएको, निजामती सेवा ऐन, २०४९ को दफा ७ (७) मा उल्लेख भएको जिल्लामा विवाह गरी वा बसाइँ सराइ गरी गएको भएमा विवाहको हकमा विवाह दर्ता प्रमाणपत्र र वसाइ सराईको हकमा छाडेको र गएको गाउँ विकास समिति/नगरपालिकाको बसाइँ सराई कागज दरखास्त साथ पेश गर्नु पर्नेछ ।
दरखास्त दिने अन्तिम मिति आगामी माघ २० गतेसम्मका लागि तोकिएको छ । त्यस्तै दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म पनि दरखास्त बुझाउन सकिने छ । लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np बाट फाराम डाउनलोड गर्न सकिन्छ ।
उमेद्वारको योग्यता कति ?
संयुक्त र एकीकृत परीक्षा प्रणालीका आधारमा हुने परीक्षाका लागि लोकसेवा आयोगले विभिन्न सेवा समूहमा उमेद्वार बन्न पाउने शैक्षिक योग्यता तोकेको छ । जसअनुसार उमेरको हकमा पुरुष उमेद्वारको १८ वर्ष उमेर पुगेको र ३५ वर्ष ननाघेको हुनुपर्नेछ र महिला र अपाङ्गको हकमा १८ देखि ४० वर्ष उमेरका महिलाले दरखास्त दिन पाउनेछन् ।
·न्याय सेवाका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट जुनसुकै विषयमा प्रवीणतापत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने ।
·परराष्ट्र सेवाका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अंग्रेजी विषयसहित प्रवीणता प्रमाणपत्र वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने ।
·प्रशासन सेवाको सामान्य प्रशासन समूहका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट जुनसुकै विषयमा प्रवीणतापत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने ।
·प्रशासन सेवाको सामान्य प्रशासन समूहका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट जुनसुकै विषयमा प्रवीणतापत्र तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने ।
·प्रशासन सेवाका लेखा समूहका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा वाणिज्यशास्त्रमा प्रवीणता प्रमाणपत्र तह वा अर्थशास्त्र, गणित, तथ्यांकशास्त्र वा जनप्रशासनमध्ये कुनै एक मूल विषय लिई प्रविणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण हुनुपर्ने ।
·प्रशासन सेवा, राजस्व समूहका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, बाणिज्यशास्त्र वा कानूनमा प्रवीणता
प्रमाणपत्र तह वा अर्थशास्त्र, जनप्रशासन, गणित वा तथ्याङ्कशास्त्रमध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण हुनुपर्ने ।
लेखापरीक्षण सेवाका लागिः- मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यापार, प्रशासन वा वाणिज्यशास्त्र विषयमा प्रवीणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण हुनुपर्ने ।
No comments
यो सामग्री प्रती तपाईंको सुझाब या कुनै पनि प्रतिकृया भए यहाँ छाडिदिनुहोला । धन्यवाद !